दफा १६८
विगो, क्षतिपूर्ति वा अन्य रकम भराई दिन तारिख तोक्नु पर्ने
(१) फैसला बमोजिम बिगोे, क्षतिपूर्ति वा अन्य कुनै रकम भराई दिनु पर्ने सम्बन्धमा तारिख तोक्दा कुन प्रयोजनको लागि कहिलेको तारिख तोकिएको हो त्यसको कारण खुलाई तोक्नु पर्नेछ ।
तर सरकारी बिगो वा क्षतिपूर्तिको हकमा सरकारी पक्ष तारिखमा बस्नु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम तोकिएको तारिखमा भराई पाउने ब्यक्ति अनुपस्थित भएमा भराई दिने सम्बन्धी कारबाही त्यस दिन स्थगित हुनेछ ।
(३) उपदफा (१) बमोजिम तोकिएको तारिखमा आफू उपस्थित हुन नसकेको कुनै मनासिब कारण देखाई बिगो, क्षतिपूर्ति वा अन्य कुनै रकम भराई पाउने ब्यक्तिले एक पटकको लागि पन्ध्र दिनभित्र अदालतमा निवेदन दिएमा त्यस्तो ब्यक्तिलाई फैसला बमोजिम भराई दिनु पर्ने बिगो, क्षतिपूर्ति वा अन्य रकम भराई दिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम तोकिएको तारिखमा उपस्थित नभएको बिगो, क्षतिपूर्ति वा अन्य कुनै रकम भराई पाउने ब्यक्तिले उपदफा (३) बमोजिमको अवधिभित्र निवेदन नदिएमा त्यस्तो बिगो, क्षतिपूर्ति वा अन्य कुनै रकम भराई दिने सम्बन्धी कार्य एक वर्षसम्मको लागि तामेलीमा राखिनेछ ।
(५) उपदफा (४) बमोजिमको अवधिभित्र सम्बन्धित ब्यक्ति उपस्थित भएमा फैसला बमोजिम भराई दिनु पर्ने बिगो, क्षतिपूर्ति वा अन्य रकम भराई दिनु पर्नेछ ।
(६) उपदफा (४) बमोजिमको अवधिभित्र सम्बन्धित ब्यक्ति उपस्थित नभएमा त्यसपछि त्यस्तो बिगो, क्षतिपूर्ति वा अन्य कुनै रकम भराई दिने सम्बन्धमा कुनै कारबाही गरिने छैन ।